असोज २१ देखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार नयाँ नोट पाइने
राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकबाट पनि नयाँ नोट साट्न सकिने ।काठमाडौँ — यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।

‘सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मी प्रपन्न निरौलालले भने ।
राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साटिदिने तयारी गरेको निरौलालले बताए । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि (बिहीबार) देखि नयाँ नोट वितरण गर्दै छ । बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि २१ गतेदेखि मात्र सर्वसाधारणलाई वितरण सुरु गर्नेछन् ।
यो वर्ष पनि नयाँ नोटका लागि राष्ट्र बैंकमै आउनुपर्ने बाध्यता नरहेको निरौलाले बताए ।
नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणले नयाँ नोट साट्न सक्ने उनको दाबी छ । ‘ती बैंकहरूलाई पनि प्रतिव्यक्ति २७ हजारका दरले नोट साट्न निर्देशन दिएका छौं,’ उनले भने, ‘ती बैंकहरूले यहाँबाट लिएको पैसा सर्वसाधारणलाई वितरण गरे/गरेनन् भन्ने बारे हरेक दिन सबै शाखाहरूमा गएर नियमन तथा सुपरिवेक्षण गर्छौं ।’ यसकारण यो वर्ष विगतमा जस्तो अन्य बैंकहरूबाट नयाँ नोट पाइएन भन्ने गुनासो नआउने उनले दाबी गरे । ‘एउटै व्यक्तिले पटकपटक लिन भएन, अन्यथा आफूलाई पायक पर्ने सरकारी र निजी बैंकको शाखाहरूबाट सजिलै नयाँ नोट साट्न सकिन्छ,’ उनले थपे ।
‘असोज २१ देखि २९ गतेसम्म ५, १०, २० र ५० का दुई/दुई र १ सय दरका एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा उपलब्ध गराइने भएकाले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्नु हुन अनुरोध गरिन्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।
राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको थियो । सोही अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थालाई ५० अर्ब रुपैयाँ बराबरको नयाँ र सुकिला नोट वितरण गरेको थियो । नोट सटही गर्दा सर्वसाधारण वा संस्थबाट पुराना नोट लिएर नयाँ नोट दिइन्छ । यसको अर्थ नोट सटही गर्दा बजारमा मुद्राको आपूर्ति बढदैन । तर, विभिन्न संघसंस्थालाई भुक्तानी दिँदा ती संस्थाहरूको खातामा रहेको रकम बाहिर जाने हो । यस्तो भुक्तानीमा बजारमा मुद्रा आपूर्ति बढछ । ‘यो वर्ष गत वर्ष वितरण गरेकै रकममा हालको मुद्रास्फीति दर बराबरको बढाउने योजना छ,’ उनले भने, ‘अनावश्यक रूपमा बजारमा नोट नजाओस् भन्ने राष्ट्र बैंकको उद्देश्य हो ।’
काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सर्वसाधारणले नयाँ नोट सटही गर्न सक्नेछन् । यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् । मोफसलमा राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको हो । ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौं’ भन्दै राष्ट्र बैंकले उक्त आग्रह गरेको हो ।
सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले सिधै पक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनमा छ ।
0 Comments